NTC Ad

हिमालयन शेर्पा चन्द्रागिरी गोल्डकपको फाइनलमा

Sunday, November 19th, 2017

काठमाडौं, मंसिर २ गते–
हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ । नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा आइतबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै शेर्पाले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा शेर्पाका त्रिदेव गुरुङले दोस्रो हाफमा गरेको गोल नै शेर्पालाई फाइनलमा पु¥याउन निर्णायक बन्यो । त्रिदेव गुरुङले खेलको ५६ औं मिनेटमा गोलरक्षक अर्पण कार्कीले रिलिज गरेको लामो बललाई आर्मीका डिफेन्डरबीच तालमेल नमिलेको अवस्था र गोलरक्षक महेश्वर श्रेष्ठ पोजिसनमा नभएको बेला चिपमा गोल गर्न सफल भएको थियो ।

अब हिमालयन शेर्पाले उपाधिका लागि कुपन्डोलको एनआइविएल फ्रेण्डस् क्लबसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । फ्रेण्डसले शनिबार सिएमजी क्लब संकटालाई १–ले नै पराजित गर्दै फाइनमा स्थान सुरक्षित गरिसकेको छ ।
खेलको १० औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई शेर्पाका डिफेन्डरले क्लियर गर्दा आर्मीले खेलमा अग्रता लिनबाट चुकेको थियो । २१ औं मिनेटमा शेर्पाका पियुस हेनरी गोल गर्नबाट चुक्यो ।

२५ औं मिनेटमा हेनरीको पासमा त्रिदेवले गोल गर्न सकेन । २६ औं मिनेटमा आर्मीका एरिक विष्टको प्रहार गोलरक्षक अर्पण कार्कीले मुस्किलले बचाउदा आर्मीले खेलमा अग्रता लिन सकेन । ३६ औं मिनेटमा नरेश मेचेको प्रहार गोलरक्षक कार्कील पञ्च गरेर बचाउदा पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफको शुरुवातमै शेर्पाका पियुस हेनरीले वान भर्सेस वानमा गोल गर्न चुक्दा शेर्पाले अग्रता लिन सकेन ।

४९ औं मिनेटमा शेर्पाका कप्तान मान बहादुर तामाङले वान भर्सेसु वानमा अर्काे मौका खेर फाल्यो । लगतार गोलको मौका खेर फालिरहेको शेर्पाले ५६ औं मिनेटमा भने गोल गर्न सफल भयो । यसपटक शेर्पाका त्रिदेव गुरुङ गोल गर्नबाट चुकेन । विपक्षी डिफेन्डरबीच तालमेल नमिल्दाको फाइदा त्रिदेवले उठाउन सफल भयो । ७१ औं मिनेटमा शेर्पाका पियुस हेनरी गोल गर्न चुुक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो । ८० औं मिनेटमा शेर्पाका कप्तान मान बहादुर तामाङले खाली पोष्टमा गोल गर्न सकेन । गोलरक्षकले पञ्च गरेर बचाएको बल मानबहादुरको प्रहार आकासिएको थियो ।

यता, आर्मीले केही मौका सिर्जना गरेपनि गोल गर्न सकेन । शेर्पासँग १–० ले पराजित हुन बाध्य बन्यो । शेर्पाका सजित मोरान खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ३ हजार रुपैया प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते मंगलबार हुनेछ । ब्राइट युथ क्लब नैकापको आयोजनमा नकआउटका आधारमा कात्र्तिक २८ गतेबाट भैरहेको प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका ७ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नैकापको ब्राइट युथ क्लबको आयोजनामा भएको प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिका, युनाइटेड सिमेन्ट लगायतले प्रायोजन गरेको छ ।