Everest Bank Ad

सुपर लिगमा शिर्ष वरियताको अग्रता

Friday, December 8th, 2017

काठमाडौं, मंसिर २२ गते –
हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष÷महिला सिंगल्सको सुपर लिगका खेलहरु शुक्रबार सम्पन्न भएका छन् ।
पुरुष सिंगल्सको सुपर लिगमा राष्ट्रिय च्याम्पियन प्रहरीका श्यान्टु श्रेष्ठ पहिलो, एपीएफका पुरुषोत्तम वज्राचार्य दोश्रो, एपीएफकै शिवसुन्दर गोथे तेश्रो र प्रहरीका दीप साउन चौथो भए ।
बाह्र खेलाडी सहभागी प्रतिस्पर्धामा श्यान्टुले सबै प्रतिद्वन्द्वीलाई पराजित गरे । अन्तिम दिन उनले ५ खेलमा प्रतिस्पर्धा गरे र सबैमा जित आत्मासात् गरे । उनले आर्मीका चन्दन शाहीलाई ३–० तथा एपीएफका शिवसुन्दर गोथे, एपीएफकै अमरलाल मल्ल, प्रहरीका प्रदीप रोका र प्रहरीकै दीप साउनलाई समान ३–१ को सेटमा हराए ।2
त्यस्तै पुरुषोत्तमले १० मा जित र १ मा हार, शिवले ९ मा जित र २ मा हार तथा दीपले ८ मा जित र ३ मा हार व्यहोरे ।

नौ खेलाडी सहभागी महिला सुपर लिगमा राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ, नेपाल आर्मी क्लबकी स्वेच्छा नेम्वाङ र दीक्षा तामाङ तथा प्रहरीकी एलिना महर्जनले शीर्ष चार स्थान हारे ।   लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नविताले सहोदर नन्द आफ्नै क्लबकी एलिना महर्जनलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुपर लिगमा शत प्रतिशत जित निकालिन् । ६ मा जित र २ मा हार व्यहोरेकी स्वेच्छाले आर्मीकी रविना महर्जनलाई ३–० ले हराइन् । नेपाल एपीएफ क्लबकी सेलिशा खड्गीसंग भने स्वेच्छा १–३ ले चुकिन् ।5
तेश्रो भएकी आर्मीकी दीक्षा तामाङ तामाङले पनि ६ मा जित र २ हारको सामना गरिन् । ‘हेड टु हेड’ मा दीक्षा स्वेच्छासंग पछि परेकी हुन् । दीक्षाले प्रहरीकी सोनु थापा मगरलाई ३–१ ले पन्छाइन् ।
चौथो भएकी एलिनाले ५ मा जित र ३ मा हार खेपिन् । सुपर लिगको अन्तिम दिन एलिनाले ३ खेल खेलिन् । त्यसमा एलिनाले प्रहरीकी यशस्वी अवाललाई मात्र ३–० को सीधा सेटमा पाखा लगाइन् । एलिना स्वेच्छासंग १–३ तथा भाउजु नवितासंग ०–३ ले पछि परिन् ।
पुरुष÷महिला सिंगल्सको क्वालिफायरमा सुपर लिगमा पहिलो र दोश्रो हुने खेलाडीबीच हुने प्रतिस्पर्धामा विजयी हुने खेलाडी सोझै फाइनलमा प्रवेश गर्नेछ । दोश्रो हुने खेलाडीले पनि पुनः फाइनलमा पुग्ने एक मौका प्राप्त गर्नेछ । दोश्रो हुने खेलाडीले फाइनल प्रवेशका लागि तेश्रो र चौथो हुने खेलाडीबीचको प्रतिस्पर्धामा विजयी हुने खेलाडीसंग फेरि प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछ ।