NTC Ad

सुटिङ टोली जापान जाँदै

Monday, December 4th, 2017

काठमाडौं, मंसिर १८ गते –
दसौं एसियाली एयर गन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली सुटिङ टोली मंगलबार जापानको वाको जाने भएको छ ।
डिसेम्बर ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडी सुस्मिता नेपाल र आयुशा केसीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । दुवैले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् ।
टिम व्यस्थापकमा नेपाल सुटिङ संघका सदस्य राजेशबहादुर श्रेष्ठ तथा प्रशिक्षकमा सुटिङ प्रमुख प्रशिक्षक प्रदीप खाती रहेका छन् । नेसनल राइफल एसोसिएन अफ जापानको आयोजनामा हुने उक्त प्रतियोगिता सन् २०१८ मा अर्जेन्टिनामा हुने युथ ओलम्पिकका लागि खेलाडी छनोटका रुपमा समेत रहेको प्रशिक्षक खातीले जानकारी गराए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती र सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले सोमबार सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीले स्वर्ण, रजत र कांस्य जितेमा संघले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

एसियाली सुटिङ महासंघका महासचिव समेत रहेका अध्यक्ष श्रेष्ठले खेलाडीले पदक जिते तालिमको छात्रवृत्तिका लागि एसियाली सुटिङ महासंघमा पहल गर्ने प्रतिबद्धता समेत जनाए । साथै कार्यक्रममा उपस्थिति खेलाडीका अभिभावकले पनि स्वर्ण, रजत र कांस्य जितेको खण्डमा अध्यक्ष श्रेष्ठले घोषणा गरे जति रकम नै खेलाडीलाई उपलब्ध गराउने वाचा गरे ।