NTC Ad

संयोग र आभाष क्वाटरफाइनलमा

Tuesday, December 5th, 2017

काठमाडौं, मंसिर १९ गते
नेपाल एपीएफ क्लबका संयोग कपाली र पिङपोङ सुपरस्टारका आभाष चौलागाईं हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । संयोग समूह ‘ए’ को विजेता तथा आभाष सोही समूहको उपविजेता बन्दै क्वाटरफाइनल पुगेका हुन् ।3
त्यसै स्पर्धाको समूह ‘बी’ बाट एपीएफका एलेक्स महर्जन र एभीएमका विशाल गोले, समूह ‘सी’ बाट भक्तपुरकाद्वय रोशन खाइतु र रेखन तामाङ तथा समूह ‘डि’ बाट नेपाल आर्मीका बोधित डिसी र याला स्पिनका डिकेन महर्जन क्रमशः विजेता र उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
यु–१६ गल्र्स सिंगल्सको समूह ‘ए’ मा पिङपोङ सुपरस्टारकी मारिया थापा मगर र भक्तपुरकी मन्जु सुवाल, समूह ‘बी’ मा आर्मीकी दीक्षा दाहाल र वज्र युनियनकी स्मृति पन्त, समूह ‘सी’ मा एपीएफकी अन्जु सुवाल र भक्तपुरकी मनीषा सुवाल तथा समूह ‘डि’ मा वज्रकी नस्ला मानन्धर र भक्तपुरकी आरती सुवाल क्रमशः विजेता र उपविजेता बने ।4
सबै विजेता र उपविजेताले क्वाटरफाइनल यात्रा तय गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको मंगलबारै भएको महिला सिंगल्सको सुपर लिगमा आर्मीकी स्वेच्छा नेम्वाङ र दीक्षा तामाङ तथा नेपाल प्रहरी क्लबकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले ह्याट्रिक जित दर्ता गरे ।
स्वेच्छाले एपीएफकी सिक्का सुवाललाई ३–२, प्रहरीकी सोनु थापा मगरलाई ३–० र प्रहरीकी यशस्वी अवाललाई ३–० को सेटमा पराजित गरिन् । दीक्षाले प्रहरीकी एलिना महर्जनलाई ३–१, एपीएफकी सेलिशा खड्गीलाई ३–२ र आर्मीकी रविना महर्जनलाई ३–१ ले हराइन् । एपीएफकी सेलिशा र आर्मीकी रविनालाई ३–० ले पन्छाएकी नविताले प्रहरीकी सिक्का विरुद्ध पनि ३–० कै जित निकालिन् ।
अन्य खेलमा आर्मीकी रविनाले प्रहरीकी यशस्वी, एपीएफकी सिक्काले यशस्वी र प्रहरीकी एलिनाले आफ्नै क्लबकी सोनुलाई समान ३–० को सोझो सेटमा पाखा लगाए ।
पुरुषको सुपर लिगमा दोहोरो जित निकालेका राष्ट्रिय च्याम्पियन प्रहरीका श्यान्टु श्रेष्ठले एपीएफ पुरुषोत्तम वज्राचार्यलाई ३–१ र आर्मीका नारायण घिमिरेलाई ३–०, एपीएफका शिवसुन्दर गोथेले एपीएफका अमरलाल मल्ल र प्रहरीका प्रदीप रोकालाई समान ३–० तथा प्रहरीका दीप साउनले भक्तपुरका राजिव चिकबन्जारलाई ३–० र आर्मीका चन्दन शाहीलाई ३–१ को सेटमा हराए ।