NTC Ad

संकटा चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

Thursday, November 16th, 2017

काठमाडौं, कात्तिक ३० गते–
सिएमजी क्लब संकटा राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका गरेको छ ।
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा बिहिबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । संकटाको जितमा दुई विदेशी खेलाडीले गोल गरे ।

संकटाका आइभोरीकोष्टका फ्लोरन्स कोआभा र मार्टिन्स अजयीले गोल गरे । पुलिसविरुद्ध संकटाले ७ मिनेट भित्र नै दुई गोल गर्न सफल भएको थियो । पुलिस सम्हालिन नपाउदै पाँचौं मिनेटमा फ्लोरेन्सले हेडगोलमार्फत संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । फ्लोरेन्सले अअअमित तामाङको कर्नर बललाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

दुई मिनेटपछि मार्टिन्स अजयीले बाइ साइकिल किकबाट गोल गर्दै संकटाको अग्रता दोब्बर पारेको थियो । मार्टिन्सले भीडभाडमा गोल गर्न सफल भएका थिए । दुई गोलले पछि परेपछि पुलिसले सम्हालिएको खेल प्रदर्शन गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । २३ औं मिनेटमा पुुलिसका अभिषेक रिजालले गोल गर्न सकेन ।

३२ औं मिनेटमा रवि पासवानले अर्काे गोलको मौका खेल फाल्दा गोल अन्तर घटाउने अवसर गुमायो । ३६ र ४४ औं मिनेटमा नै अभिषेकले अर्काे मौका खेर फाल्यो । पहिलो हाफमा २–० ले पछि परेको पुलिसले दोस्रो हाफमा पनि आधा दर्जन गोल गर्ने अवसर खेर फाल्दा पराजित हुन बाध्य बन्यो ।
संकटाका मार्टिन्सले ३४ औं मिनेटमा अर्काे मौका खेर फाल्यो । ४२ औं मिनेटमा अमित तामाङले फ्रिकिक क्रसबार माथिबाट जादा अग्रता तेब्बर गर्ने मौका गुमायो । ४८ औं मिनेटमा गोलकर्ता मार्टिन्स वान भर्सेस वानमा गोल गर्नबाट चुके ।

८८ औं अमित तामाङको फ्रिकिक निराजन खड्काले भेट्टाउन सकेन । त्यसपछि पनि थप गोल नहुदा संकटाले पुलिसमाथि २–० को जित निकाल्यो । संकटाका फ्लोरेन्स कोआभा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ३ हजार प्राप्त गरे ।
संकटाले अब सेमिफाइनलमा फ्रेण्डस् क्लबको सामना गर्नेछ ।

फ्रेण्डसले आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो ।  सेमिफाइनल मंसिर २ गते हुनेछ ।
प्रतियोगिता अन्र्तगत शुक्रबार हिमालय शेर्पा र नेपाल एपिएफ क्लबबीच खेल हुने आयोजकले जनाएको छ । नकआउटका आधारमा भैरहेको प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका ७ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोलीले फाइनलमा खेल्नेछ ।  समूह ‘ए’ मा ब्राइट युथ, फ्रेन्ड्स, पुलिस र संकटा छन् । आर्मी, जावलाखेल, हिमालयन र एपिएफ समूह ‘बी’ मा छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ तथा हरेक खेलको ‘म्यान अफ दि म्याच’ ले ३ हजार रुपैयाँ पाउनेछन् । हरेक म्याच खेल्ने टिमले तयारी खर्च स्वरुप ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिका, युनाइटेड सिमेन्ट लगायतले प्रायोजन गरेको छ ।