Everest Bank Ad

श्रीलङ्काको हार हाम्रो पाठ बन्ला?

Tuesday, September 25th, 2018

भाष्कर ज्ञवाली
असोज नौ,काठमाण्डौ
सन् १९९६ को विश्वकप विजेता श्रीलङ्का दुबईमा एसिया कप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । प्रतियोगितामा अफगानिस्तान र बङ्गलादेशले लज्जास्पद पराजयको स्वाद चखाएर श्रीलङ्कालाई घर फर्काए । यो भर्खरैको कुरा भयो । तर नौलो होइन, केही वर्षयता एकदिवसीय क्रिकेटमा श्रीलङ्काली टोलीको फितलो प्रदर्शन जगजाहेर नै छ ।
श्रीलङ्काली क्रिकेट मात्र होइन, विश्व क्रिकेटकै महान हस्तीहरू कुमार संगकारा र माहेला जयबद्र्धनेले संन्यास लिएपछि श्रीलङ्काली क्रिकेटले उनीहरूले खाली छाडेको ठाउँ भर्न सकेको छैन । त्यसअघि सन् २०११ मै टेस्ट क्रिकेटमा ८०० र एक दिवसीयमा ५३४ विकेट लिएका विश्वकै सबैभन्दा सफल बलर मुथैया मुरलीधरनले क्रिकेटबाट संन्यास लिए । त्यसैबेलादेखि श्रीलङ्काली क्रिकेट टोलीमा सुरु भएको रिक्तता पूरा नहुँदै संगकारा र जयबद्र्धनेको संन्यासले अझ विकराल अवस्थामा पु¥यायो ।
विकेटकिपरका रूपमा आएका संगकाराले पछि विशेषज्ञ ब्याट्सम्यानको रूपमा टिममा रहेर एक दिवसीय व्रिmकेटमा २५ शतकसहित १४ हजार २ सय ३४ रन बनाए । उनका सहयात्री माहेला जयबद्र्धनेले १९ शतकसहित १२ हजार ६ सय ५० रन बनाए । यी दुईको जोडीलाई विश्व क्रिकेटकै सर्वकालीन राम्रो ब्याटिङ जोडीमध्ये एक मानिन्छ ।
उनीहरूले सन् २०१५ मा एकैपटक संन्यास लिएपछि श्रीलङ्काली टोली अहिलेसम्म पनि त्यो रिक्तता पुरेर अगाडि बढन सकेको छैन । सन् २०१७ जनवरीयता श्रीलङ्काले खेलेको र नतिजा आएको ४० एकदिवसीय खेलमध्ये ३० ओटामा पराजित भएको छ । मात्र १० खेल उसले जितेको छ । यो अवधिमा कप्तानको जिम्मेवारीमा भने लगातार फेरबदल भएको छ । अहिलेको कप्तान दिनेश चन्डिमल सन् २०१७ यताको छैठौँ कप्तान हुन् । पछिल्लो २० महिनामा श्रीलङ्काले बंगलादेश र जिम्बाब्बे सम्मिलित एउटा त्रिदेशीय श्रृङ्खला मात्र जितेको छ ।
सन् १९९६ विश्वकप विजयी श्रीलङ्काली टोलीका महत्वपूर्ण सदस्य असन्का गुरुसिंघेको भनाइ मान्ने हो भने श्रीलङ्काली क्रिकेट बोर्डले राम्रा खेलाडीहरूको प्रर्बद्धन नगर्दा यस्तो समस्या आएको हो । “भविष्यका संगकारा वा मुरलीधरन वा जयबद्र्धने उत्पादन गर्ने कार्यक्रम सही तरिकाले चलेको भए उनीहरूले संन्यास लिनेबित्तिकै श्रीलङ्काली क्रिकेट यति तल झरेको हुँदैनथ्यो,” उनी भन्छन् ।
विश्व क्रिकेटको अर्को महत्वपूर्ण राष्ट्र भारतमास्टार खेलाडीहरूले लगभग एकै समयमा संन्यास नलिएका होइनन् । सचिन तेन्दुलकर, सौरभ गांगुली, वीरेन्द्र सहवाग, अनिल कुम्बले जस्ता ठूला खेलाडीहरूले छोटो अन्तरालमै संन्यास लिएका हुन् । तर पनि भारतीय क्रिकेट टिमको दबदबा विश्वमञ्चमा कायमै छ । भारतमा अन्डर १५, अन्डर १७ र अन्डर १९ बाट राष्ट्रिय टोलीमा आउने खेलाडीहरूको बलियो समूह छ । यसका लागि आवश्यक नियमित प्रतियोगिताहरू र क्षमता पहिचान गरेर अगाडि बढाउन प्रतिभा थप निखार्ने एकेडमीहरू छन् । नियमित रूपमा उमेर समूह तथा सिनियरहरूको लिग प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् । यसले गर्दा टोली मजबुत हुनुका साथै कुनै खेलाडीलाई विश्राम दिन, कोही खेलाडी घाइते भएमा उसको स्थानमा अर्को खेलाडी दिन भारतीय टोली सहजै सक्षम देखिएको छ ।
अहिले चलिरहेको एसिया कपमा पनि नियमित कप्तान विराट कोहलीको अनुपस्थितिमा समेत भारतले राम्रो प्रदर्शन गरिरहेको छ । युवा खेलाडीहरूले भरिएको भारतीय टोली हरेक एकदिवसीय प्रतियोगितामा जितको दाबेदारका रूपमा प्रस्तुत हुन्छ ।
नेपाल प्रसङ्ग
आज श्रीलङ्कालाई परेको समस्यामा नेपाल पनि पर्ने निश्चितप्रायः छ । शक्ति गौचनले संन्यास लिइसकेका छन् भने टिममा भएका अरू सिनियर खेलाडीहरू शरद भेषावकर, कप्तान पारस खडका, बसन्त रेग्मी आदिको पनि उमेर ढल्किँदो छ । एकदिवसीय मान्यता पाएपछिको पहिलो प्रतियोगितामा नेदरल्यान्डसँगको श्रृङ्खला १–१ को बराबरीमा राख्न सफल भए पनि नेपालले एसिया कप छनौटमा बिर्सनयोग्य प्रर्दशन ग¥यो । ५ खेल खेलेको नेपालले २ खेलमा जित र बाँकी ३ मा हार बेहोरेर पुछारबाट तेश्रो स्थानमा रह्यो ।
नेपाली क्रिकेटको आधिकारिक निकाय क्यान लामो समयदेखि आइसीसीको प्रतिबन्धमा छ । राष्ट्रिय प्रतियोगिताहरू हुन सकेका छैनन् । खेलाडीहरूमा सकारात्मक ऊर्जाभन्दा नैराश्यता बढी छ । यस्तो अवस्थामा पनि नेपाली क्रिकेटले जुन उपलब्धि प्राप्त गरेको छ, त्यो खेलाडीहरूको लगन, प्रतिभा र सबैभन्दामाथि देशको लागि खेल्दैछु भन्ने भावनाको प्रतिफल हो । यसलाई हामीले कदर गर्ने पर्छ ।
तर अबको एक–दुई वर्षपछि के होला ? अहिलेकै खेलाडीहरूले सधैँ खेलिरहन्छन् भन्ने होइन । सिनियर खेलाडीहरूले संन्यास लिँदा उनीहरूको स्थान लिन नयाँ युवा प्रतिभाबीच तँछाडमछाडको अवस्था हुनुपर्दछ । अझै स्पष्टरूपमा भन्दा नयाँ र राम्रा प्रतिभाहरूको आगमनले सिनियर खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न अथवा उनीहरूका लागि ठाउँ छाड्ने खालको वातावरण बनाउन आवश्यक छ ।
यति त, हामी श्रीलङ्काको खस्कँदो स्तर र भारतीय टिममा नयाँ प्रतिभाहरूको चापलाई हेरेर सहजै भन्न सक्छौँ । हिजो हामीसँगै समान स्तरमा प्रतिस्पर्धा गर्ने अफगानिस्तानलाई हेरेर चुकचुकाउने बेला अब छैन । हामीभन्दा क्रिकेटको विकासमा निकै तल रहेको हङकङसमेत अगाडी बढिसक्यो । एक दिवसीय मान्यता पाउनु मात्रै सबैथोक होइन । एकदिवसीय मान्यता प्राप्त अन्य राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्ने हुनु आवश्यक छ । यसका लागि प्रतिभावान खेलाडीहरूको खोजी, प्रबद्र्धन र विकास आवश्यक छ । पूर्वाधार विकासको अनिवार्य पाटो त छँदैछ ।