NTC Ad

शिवम् न्यू डायमन्डलाई भलिबल उपाधि

Sunday, November 5th, 2017

काठमाडौं, कात्तिक १८ गते–
प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्र्तगत महिलातर्फको उपाधि शिवम् न्यू डायमण्ड एकेडेमीले हात पारेको छ ।
नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरमा आईतवार भएको फाइनल खेलमा शिवम् न्यू डायमण्डले बुटवलको एभरेष्ट बोड्रिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । न्यूडायमण्डले एभरेष्टलाई  २५–१३, २५–१४ र २५–१७ को सेटमा पराजित गरेको हो ।

जीतसँगै उपाधि विजेता शिवम् न्यू डायमण्डले नगद एक लाख सहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ । उपविजेता एभरेष्टले नगद ६० हजार नगद सहित ट्रफी हात पारेको छ । यस्तै तेस्रो स्थानको खेलमा टप्स मावि पोखराले कुलेश्वरको पारामाउन्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै नगद ३५ हजार हात पारेको छ  । महिला तर्फको स्पर्धा समाप्त भएसँगै प्रतियोगिताको उत्कृष्ट खेलाडी शिबम् न्यू डायमण्ड एकेडेमीकी प्रतिभा माली घोषित भइन्  ।

मालीले नगद ५हजार हात पारिन् । यस्तै न्यूडायमण्डकी कृपा अधिकारी उत्कृष्ट सेटर बन्दा शिवम् न्यूडायमण्डकी रस्मिता दुरा उत्कृष्ट डिफेन्डर, एभरेष्टकी पुनम चन्द उत्कृष्ट स्पाइकर, एभरेष्टकै कामना विष्ट उत्कृष्ट ब्लकर, टप्सकी ममता डगौरा उत्कृष्ट सरभर घोषित भइन् । उत्कष्ट सबैले नगद तीन हजार हात पारे । बिजतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशबकुमार बिष्ट,नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,महासचिव जितन्द्रबहादुर चन्द,आयोजक नेपाल बिद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसीलगायतले पुरस्कृत गरे ।
पुरुषमा न्युटन र बङताङ सोमवार फाईनल खेल्ने
पुरुषतर्फको फाईनल खेल भने सोमवार हुने भएको छ । सेक्रेहार्टले नुवाकोट बुङताङलाई सेमिफाईनलमा हराउदै  फाईनल पुगेको थियो । तर  थ्री स्टारले क्वाटर फाईनल खेलमा लगाएको प्रोटेष्ट प्रमाणीत भए पछि सेक्रेटहार्ट प्रतियोगितामा खेल्न अयोग्य टिम भएको आयोजक नेपाल बिद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसीले जानकारी गराए ।

सेक्रेटहार्टले क्वाटर फाईनल थ्री स्टारलाई पराजित गरे पछि १८ बर्ष माथीको खेलाडी खेलाएको भन्दै थ्री स्टारले सेक्रेटहार्टमाथीे प्रोटेष्ट गरेको थियो । थ्री स्टारको प्रोटेष्ट प्रमाणित भए पछि सो समूहबाट सेक्रेटहार्टसग क्वाटर फाईनलमा पराजित थ्री स्टार र सेमिफाईनमा पराजित  नुवाकोटको बुङताङ भलिबल संघले आयोजकको निर्णय अनुसार सेमिफाईनल खेल्ने अवसर पाए ।

सेमिफाईनल खेलमा नुवाकोटको बुङताङ भलिबल संघले थ्री स्टार एकेडेमीमाथी ३–२ को रोमाञ्चक जित निकाल्यो । पहिलो र दोश्रो सेट २२–२५ र २०–२५ ले गुमाएको बुङताङले खेलमा पुनरागमन गदै २५–२१,२५–२० र १५–९ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । ढिलो सुरु भएको न्युटन र बुङताङ बीचकोफाईनल खेलमा स्थिगित हुनु अघि न्युटन १–० ले अघि थियो । खेल सोमबार १ बजे हुनेछ ।