Everest Bank Ad

रियो ओलम्पिकमा गौरिकाको चर्चा

Wednesday, August 3rd, 2016

सुमित्रा राना
काठमाडौं, साउन १९
ओलम्पिक खेल्ने हरेक खेलाडीको सपना हुन्छ । तर त्यो सबैले प्राप्त गर्न सक्दैनन । धेरैले मात्र खेल करियरमा त्यो अवसर पाउँछन । ओलम्पिक खेल्ने अवसर पाउने भाग्यमानी खेलाडीमा पर्छिन । नेपालीकी पौडी खेलाडी गौरिका सिंह ।
गौरिका ओलम्पिक सुरु हुनु अघि नै चर्चामा छिन । कारण उनी रियो ओलम्पिकको कान्छी खेलाडी बनेर अहिले चर्चित भैरहेकी छिन ।
खेलकुदको महाकुम्भ ओलम्पिक शुरु हुन अब एक हप्ता बाँकी छ । ब्राजिलको रियो द जेनेरियामा हुने ओलम्पिक २०१६ ले करिब दुइ हप्ता भन्दा बढी विश्वको ध्यानलाई केन्द्रित गर्नेछ । ओलम्पिक सुरु हुन अघि नै खेलाडीको बारेमा चर्चा हुन सुरु भैसकेको छ ।
ब्राजिल एवम बार्सिलोनाका स्टार नेइमार रियो ओलम्पिकमा धेरैले पछयाइरहेको खेलाडी हुन । साउदी अरबकी पहिलो पुस्ताकी खेलाडी साराह अल अटारले दोस्रो पटक ओलम्पिक खेल्दा विधा परिवर्तन गदै म्याराथनमा भाग लिने भएकी छिन ।

नेइमार, साराह जस्ता खेलाडी ओलम्पिक सुरु हुनु अघि नै चर्चाको बिषय बनेका छन । ओलम्पिक सुरु हुन अघि चर्चित हुनेमा नेपाली खेलाडी गौरिका सिंह पनि भएकी छिन । गौरिका रियो ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी भएको आयोजकले बताएको छ ।
गौरिका पछिल्लो समय नेपाली पौडीको आसा लाग्दी खेलाडी हुन । उनले प्राप्त गरेको सफलताले नेपाली पौडीमाथी थुप्रै चुनौति र महोत्वकाक्षा पलाएका छन ।
६ महिनाअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका सनसनीपुर्ण नतिजा निकाल्दै सबैलाई आश्चर्यमा पारेकी थिइन । तर ओलम्पिकमा भने उनी उमेरका कारण चर्चामा छिन् ।
गौरिकाले ओलम्पिकमा आइतबार १ सय मिटर ब्याक स्ट्रोकको हिट्समा प्रतिस्पर्धा गर्नेछिन् । त्यही दिन उनी १३ वर्ष २ सय ५५ दिन पूरा हुने छिन् ।
रोयटर्ससँग कुरा गर्दै गौरिकाले पहिलोपटक सुन्दा विश्वास गर्न गाह्रो भएको बताएकी छन् । ‘मेरो उमेर सानो छ । तर म नै रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी छु भन्दा विश्वास लागेको थिएन,’
परिवारसँगै बेलायत बसोवास गरिरहेकी गौरिकालाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ,  ‘मैले महिना दिनअघि थाहा पाउँदा अचम्म लागेको थियो ।’
गतवर्ष वैशाख १२ को विनाशकारी भूकम्पमा नेपालमा रहँदाको अवस्थालाई पनि रोयटर्ससँगको कुराकानीमा गौरिकाले स्मरण गरेकी छन् । ‘त्यो साँच्चै डरलाग्दो अवस्था थियो । हामी पाँचौं तलामा थियौं,’ उनले सम्झिइन्,‘ भाग्यवश, अरु घरजस्तो हाम्रो घर भत्किएन ।’
गौरिकाले ६ महिनाअघि १२ औं सागमा नेपालाई एक रजत पदक सहित ४ कांस्य जितेकी थिइन । सागमा नेपाललाई व्यक्तिगत पदक दिलाउने गौरिका पहिलो खेलाडी हुन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेमा रजत सहित ५०, १०० र २०० मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेकी थिइन् । जुन नेपाली पौडीमा एउटै खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा जितेको सर्वाधिक ब्यक्तिगत पदक पनि हो ।