Everest Bank Ad

रियल प्रशिक्षक बर्खास्त

Thursday, November 1st, 2018

solari real coach1लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा क्लब रियल मेड्रिडले आफ्ना प्रशिक्षक जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको छ ।
क्लबमा ४ महिना मात्र बिताएका लोपेटेगुइलाई रियलले बर्खास्त गरेको हो । जारी सिजनको सुरुवातदेखि रियलले खस्कंदो प्रदर्शन गरेका कारण लोपेटेगुइलाई हटाएको हो ।
विश्वकप सुरु हुन एक दिन अघिमात्र स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेटेगुइले त्यसयता रियल सम्हालेका थिए । तर ला लिगामा खराब प्रदर्शनका कारण क्लबले उनलाई हटाएको हो ।
गत आइतबार बार्सिलोना विरुद्धको एल क्लासिकोमा ५–१ को हार बेहोरेपछि लोपेटेगुइलाई बर्खास्त गर्नुपर्ने कुरा उठेको थियो । लिगमा रियलको विगत १८ वर्षकै सबैभन्दा फितलो सुरुआत हो ।
सोलारी रियलको अन्तरिम प्रशिक्षक
स्पेनिस क्लब रियल मेड्रिडले जुलन लोपेटेगुईलाई बर्खास्त गर्दै अन्तरिम प्रशिक्षकमा सान्टियागो सोलारीलाई नियुक्त गरेको छ । सोलारी रियलका पूर्व खेलाडी समेत हुन् ।

यद्यपी उनी बार्सिलोनाका सुपरस्टार लियोनल मेसीको प्रसंशक हुन् । सोलारीले रियलको कास्टिला टोलीको प्रशिक्षण सम्हाल्नुअघि एक पत्रिकामा अतिथिका रुपमा लेख्ने गर्दथे । त्यसमा उनले पटक पटक मेसीको प्रशंसा गरेका थिए ।
अर्जेन्टिनाकै भएकाले पनि मेसीलाई उनले मन पराउने गर्छन् । ‘प्रत्येक पटक मेसीको खुट्टामा बल पर्दा धर्ती रोकिन्छ र सबैको ध्यान उनमा जान्छ । विपक्षी प्रशिक्षकको पसिना छुट्छ र मेसीले आफ्नो जादु देखाउन थाल्छन्,’ भन्ने कुराहरु उनले लेखेका थिए ।
सन् २०१६ मा भने उनले मेसी रियलमा खेलेको भए हुने भन्ने आशय समेत व्यक्त गरेका थिए । सोलारीले केही वर्षअघि ला लिगासँगको अन्तर्वार्तामा मेसीलाई सर्वकालीन महान् खेलाडीका रुपमा पेले र म्याराडोनासँग दाँजेका थिए ।