Everest Bank Ad

युकेलाई तेक्वान्दो उपाधी

Monday, October 17th, 2016

काठमाडौं, कात्तिक १

युकेको तेक्वान्दोे टोलीले लगातार दोस्रो पटक अन्तर्रा्ष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) उपाधि उचालेको छ । ओरेगन कन्भेन्सन सेण्टरमा तेक्वान्दो प्रशिक्षक राष्ट्र राइको नेतृत्वमा आएको युकेको टोलीले १२ स्वर्ण पदक प्राप्त गर्दै प्रतियोगिताको ११ औं संस्करणको उपाधिमाथि कब्जा जमाएको हो । यसअघि सन् २०१४मा लण्डनमा भएको प्रतियोगिता पनि संयुक्त अधिराज्यले नै जितेको थियो ।
तीन स्वर्ण पदक सहित हङकङको टोलीले दोस्रो स्थान ओगटेको छ । श्रीलंका तेस्रो भएको छ । विजेता टिमका लागि सिरिश गुरुङ, जितिराम राइ र एंजिला लिंदेनले दुई–दुई स्वर्ण पदक जितेका थिए । प्रसान्त राइ, सिंधिया राइ, मोना आले, साइमन आले, रेसवन राइ र आयुस गुरुङले स्वर्ण पदक जितेका थिए ।
त्यस्तै हङकङका लागि बाबु र छोरा दुबैले एक÷एक स्वर्ण पदक जितेर रोचक कीर्तिमान कायम गरेका छन् । दिल पालुंवा र उनका छोरा विदिप पालुंवाले स्वर्ण पदक जितेका थिए ।
विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशरकुमार विष्टले एक समारोहबीच कप तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिता अन्तरर्गत खुल्ला तर्फ भएको विनय कार्की र सिरिश गुरुङबीचको खेल निकै रोचक तथा प्रतिस्पर्धात्मक भएको थियो । अष्ट्रियाबाट आएका १४ वर्षीय नेपाली किशोरले हङकङका १८ वर्षीय खेलाडीमाथि उत्कृष्टताको आधारमा विजय प्राप्त गरेका थिए ।

प्रतिद्धन्द्धीको तुलनामा कम उचाई भए पनि क्याडर (१० देखि १४ वर्ष समूह)मा विश्व च्याम्पियनसिप खेली सकेका कार्कीले आफ्नो अनुभव प्रयोग गर्दे जित निश्चित गरेका थिए । उनी पुरुष तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै आयोजक अमेरिकाकी एलिना वेन्सन महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भइन भने उत्कृष्ट प्रशिक्षकको उपाधि संयुक्त अघिराज्यका के गुरुङले प्राप्त गरे ।
नेपालका रेफ्रि दिनेश श्रेष्ठले आफ्नो विधामा उत्कृष्टताको पुरस्कार प्राप्त गरे । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै सदस्यसचिव विष्टले अन्तर्रा्ष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताले तेक्वान्दोको स्तर उकास्नुकासाथै विश्वभर खेलको माध्यमबाट मित्रता स्थापित गर्न सफल भएको बताए ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदको पूर्ण समर्थन रहेको बताउदै उनले दुई वर्षपछि हुने प्रतियोगिताको आगामी संस्करणको नेपालले प्रतिक्षा गर्ने बताए ।
प्रतियोगितामा अमेरिका, हङकङ, कतार, संयुक्त अधिराज्य, नेपाल, श्रीलंका, मकाओ, क्यानाडा र अष्ट्रियाको सहभागिता रहेको प्रतियोगिताका निर्देशक दिवाकर महर्जनले बताए ।
११ औँ अन्तर्रा्ष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिपको उद्घाटन  राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले ओरेगन कन्भेन्सन सेण्टरमा गरेका थिए ।
प्रतियोगितामा ४० महिला सहित दुई सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिताको दशौँ संस्करण सन् २०१४ मा लण्डनमा भएको थियो । उक्त प्रतियोगितामा संयुक्त अधिराज्यको टोली प्रथम भएको थियो भने अमेरिकाको टोली दोस्रो स्थानमा रहेको थियो ।