NTC Ad

मायन्का र प्रेरणा फाइनलमा भिड्ने

Thursday, October 12th, 2017

काठमाडौं, असोज २६ गते–

मायन्का राणा र प्रेरणा कोइरालाले ललितपुरमा जारी दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तर्गत ललितपुरको सात दोबाटोस्थित टेनिस कम्प्लेक्समा बिहीबार भएको महिला सिंगल्सको सेमिफाइनल खेल जित्दै मायन्का र प्रेरणाले फाइनलमा स्थान बनाएका हुन् । मायन्काले गंगा शर्मालाई ६–३, ७–५ ले हराउँदा प्रेरणाले पनि माहिका राणालाई ६–०, ६–१ ले पराजित गर्दै उपाधिका लागि भेट पक्का गरेका हुन् ।
यस्तै महिला डबल्सको सेमीफाइनलमा मायन्का राणा र माहिका राणाको जोडीले बिजिशा श्रेष्ठ र भगवती बिकेको जोडीलाई ६–०, ६–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरे ।

योसँगै मायन्का र माहिकाको जोडीले शुक्रबार हुने महिला डब्लसको फाइनलमा अभिलाषा विष्ट र गंगा शर्माको जोडीसंग उपाधिका लागि खेल्नेछ । यसअघि महिला डब्लसकै दोस्रो सेमीफाइनलमा गंगा शर्मा र अभिलाषा विष्टको जोडीले सलोनी तामांग र प्रेरणा कोइरालाको जोडीलाई ७–६. ६–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बिहीबारै भएको पुरुष सिंगल्सको क्वाटरफाइनलमा जित हासिल गर्दै कमलबहादुर भण्डारी, प्रणव खनाल, प्रदिप खड्का र सन्तोष खत्रीले पनि सेमीफाइनलमा स्थान पक्का गरे ।

कमलले श्रीराम मगरलाई ६–१, ६–४ ले, प्रणवले गौरव जंग शाहीलाई ६–१, ६–२ ले, प्रदिपले सुब्रत बस्नेतलाई ६–२, ६–४ ले तथा सन्तोषले महेश श्रेष्ठलाई ६–३, ६–३ ले हराएका थिए ।
यसैगरी पुरुष डबल्सको क्वाटरफाइनलमा कमल बहादुर भण्डारी र महेश श्रेष्ठको जोडीले छेवांग लामा र विजय श्रेष्ठको जोडीलाई ६–३, ६–१ ले हराउँदा श्रीराम मगर र प्रणव खनालको जोडी वाकओभरमा विजय घोषित हुँदै सेमीफाइनलमा प्रवेश गरे । यस्तै गरी सन्तोष खत्री र आत्माराम कार्कीको जोडीले प्रदिप खड्का र राजकुमार लामाको जोडीलाई ७–६, ६–४ ले तथा जीवन घिमिरे र मान बहादुर कटवालको जोडीले पनि सक्षम बिक्रम शाह र राजबीर प्रधानको जोडीलाई ६–०, ६–१ ले हराउँदै सेमीफाइनलमा स्थान बनाए । प्रतियोगिता अन्तर्गत महिला डबल्सको फाइनल तथा पुरुष सिंगल्स र डब्लसको सेमिफाइनल खेलहरु शुक्रबार हुनेछ ।