Everest Bank Ad

महर्जन परिवारलाई साइक्लिङ स‍ंघको सहयोग

Tuesday, September 18th, 2018

रंगशाला सम्वाददाता

काठमाडौं, असोज १

चार महिना अगाडी श्रीलंकाको कोदामामा रम्बल इन जंगल– २०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएका साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई झन्डै डेढ लाख रुप‍ैया सहयोग प्रदान गरेको छ।

cycle

 

संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्व. नारायणकी आमा श्रेष्ठलाई १ लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । अध्यक्ष कक्षपतिले १ लाख साइक्लिङ संघबाट उपलब्ध गराइएको र बाँकी रकम अन्यबाट संकलित भएको जानकारी दिए ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि उनको परिवारलाई  विमा वापतको रकम ७ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको छ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको विमा गरेकोले स्व महर्जनको परिवारले उक्त रकम प्राप्त गरेको हो।

राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनल गौतमले स्व. नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई विमा वापतको रकम ७ लाख रुपैयाँ बराबरको चेक त्रिपुरेश्वरस्थित राखेपमा हस्तान्तरण गरे ।

राखेपले एनएलजीसंग गत जेठ २४ गते इन्डोनेसिया एसियाडमा सहभागी हुने सम्पूर्ण नेपाली खेलाडीको १ वर्षका लागि विमा गरेको थियो । यसअघि राखेपले एनएलजीसंगै भारतमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडी र पदाधिकारीको समेत विमा गरेको थियो ।

जेठ ३० गते मृत्यु भएपनि विभिन्न कानुनी प्रकृया पूरा गर्दा असार ७ गते मात्र नारायणको पार्थिव शरीर काठमाडौं ल्याइएको थियो । त्यसै दिन उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केहि घण्टा राखेप हातामा राखि पशुपति आर्याघाटमा अन्त्येष्ठि गरिएको थियो ।

३३ वर्षको उमेरमा मृत्यु वरण गरेका नारायणले आफ्नो १२ वर्षको खेल करियरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ संघले जनाएको छ । स्व. नारायण अबिवाहित थिए । स्व. नारायणका आमा, बुवा र दुई दिदी छन् ।

सदस्य–सचिव विष्टले खेलाडी नारायणको दुःखद निधन खेलकुदका लागि पीडादायी दिन भएको बताउदै परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरे । उनले थप सहयोगका लागि पनि राखेपले पहल गरिरहेको जानकारी गराए ।

विभागीय प्रमुख गौतमले परिवारले व्यहोरेको अपूर्णीय क्षती प्रति दुख व्यक्त गर्दै राखेपको विमा गर्ने परिपाटीको सराहना गरे ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राष्ट्रले खेलाडी र आमाले छोरा गुमाउनु अत्यन्तै पीडादायी क्षण भएको बताउदै खेलाडीको विमा गरिदिएकोमा राखेपलाई धन्यवाद दिए ।