Everest Bank Ad

नेपालले बिश्व ब्याडमिन्टन च्याम्पियनसिप खेल्ने

Friday, October 6th, 2017

काठमाडौं, असोज २० गते
मित्र राष्ट्र इन्डोनिसियामा आयोजना हुने बिश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । अशोज २५ देखि कार्तिक ५ गते सम्म आयोजना हुने उक्त च्याम्पियनसिपमा सहभागी हुन जाने ९ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले शुक्रबार बिदाई गरे ।
बिश्व ब्याडमिन्टन महासंघको आयोजनमा हुने च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुमा प्रफुल महर्जन, पविन लिन्थेप, रुकेश महर्जन, रशिला महर्जन, जेशिका गुरुङ्ग र सुनैना मुखिया रहेका छन् । यस्तै टोली नेतामा संघका सदस्य जगत खड्का, टिम ब्यवस्थापकमा छवीलाल शाही र प्रशिक्षकमा रजनी मैया जोशी रहेका छन् ।
च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले पुरुष एकल र जोडी, महिला एकल र जोडी, महिला र पुरुष टिम र मिक्स जोडीमा प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए ।
टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रफुल, रशिला र जेशिका हाल म्यानमारमा जारी एशियन यु – १५ र यु–१७ ब्याडमिन्टन  प्रतियोगितामा सहभागी भईरहेकाले उतैबाट ईन्डोनेसिया जाने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए ।