Everest Bank Ad

बराबरीमा रोकियो बार्सिलोना

Monday, October 8th, 2018

barcelona photoलन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना भ्यालेसिन्यासँग बराबरीमा रोकिएको छ ।
भ्यालेन्सियाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनालाई २ अंक घाटा लाग्नुका साथै लिग तालिकाको शिर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ ।
खेलको सुरुआतमै बार्सिलोना पछि परेको थियो । खेलको दोस्रो मिनेटमै कर्नर मार्फत एजीक्वेल गेरेले गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो । तर खेलको २३ औं मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई बराबरीको स्थितिमा ल्याएका थिए । त्यसपछि भने खेलमा गोल भएन र दुवै टोलीले समान एक–एक अंक बाँड्यो । बार्सिलोनाले खेलमा ७५ प्रतिशत बल पोजेसन राखेपनि अन्य गोल गर्न सकेन । बराबरी पछि ८ खेलमा १५ अंक रहेको बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।
घरेलु मैदानमा सेल्टा भिगोलाई २–१ ले पराजित गरेको सेभिया अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ । सेभियाको ८ खेलमा १६ अंक रहेको छ ।
सिटी बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार राती भएको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन् ।
सिटी १९९६ देखि एनफिल्डमा जित निकाल्न असफल रहेको छ । खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरेपछि गोल भने हुन सकेन । खेलको ८६ औं मिनेटमा सिटीका सानेलाई लिभरपुलका डिफेन्डर भान डाइकले डिबक्स भित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । तर, रिहाद महारेजले प्रहार गरेको पेनाल्टी प्रहार गोलमा परिणत हुन सकेन । बराबरीसँगै दुवै टोलीले ८ खेलबाट २० अंक जोडेका छन् । सिटीले गोल अन्तरका कारण शिर्ष स्थानमा छ ।
चेल्सीको प्रभावशाली जित
इंग्लिस प्रिमियर लिगमा चेल्सीले साउथह्याम्टनलाई हराएको छ । आइतबार साँझ अवे मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्टनलाई ३–० गोलले हराएको हो ।
चेल्सीको जितमा ईडेन हार्जाड, रोस बार्कली र आल्भरो मोरटाले गोल गरेका थिए । खेलको ३० औं मिनेटमा हार्जाडको गोलबाट चेल्सीले अग्रता लिएको थियो । पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफमा चेल्सीले थप २ गोल ग¥यो ।
खेलको ५७ औं मिनेटमा बार्कलीले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा मोरोटाले गोल गरेपछि चेल्सीले ३–० सहज जित निकाल्यो । जितसँगै ८ खेलबाट २० अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । समान १९ अंक जोडेका म्यानचेस्टर सिटी र लिभरपुल तेस्रो स्थानमा छन् ।
पिएसजीको सहज जित
क्लियन एम्बाप्पेले ४ गोल गरेपछि पिएसजीले लियोनलाई सहजै हराएको छ ।
फ्रेन्च लिग वान अन्तर्गत आइतबार घरेलु मैदानको भएको खेलमा पिएसजीले लियोनलाई ५–० ले हराएको हो । पिएसजीको जितमा एम्बाप्पेले १३ मिनेटको अन्तरमा ४ गोल गरेका थिए । एम्बाप्पेले दोस्रो हाफको ६१, ६६, ६९ र ७४ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए। १३ मिनेट भित्रैं चार गोल गरेपछि घरेलु टोली सहज जिततर्फ अगाडि बढेको हो । थप एक गोल नेयमारको नाममा रह्यो ।
खेलको नवौं मिनेटमा नेयमारले पेनाल्टीमार्फत् गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए । एम्बाप्पेलाई पेनाल्टी एरियामा लियोनका गोलकिपरले लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो ।
यस्तै खेलको ३५ औं मिनेटमा पिएसजीका प्रेस्नेल किम्पेम्बेले सोझो रातो कार्ड पाएर मैदान बाहिरिएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो । यस्तै खेलको २६ औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका लियोनका लुकास टुसार्टले ४५ औं मिनेटमा दोस्रो पहेलो कार्ड पाउँदै बाहिरिएपछि लियोन पनि १० खेलाडीमै सिमित भयो । पहिलो हाफ १–० ले अगाडि रहेको पिएसजीका लागि दोस्रो हाफ एम्बाप्पेमय बन्यो । लिग वान अन्तर्गत ९ खेल खेल्दै शत प्रतिशत जित निकालेको पिएसजी २७ अंकसहित लिगको शीर्ष स्थानमा छ ।