NTC Ad

पल्सर स्पोर्टस अवार्डको तयारी पुरा

Saturday, September 9th, 2017

 

नेपाल खेलकुद पत्रकार मञ्चले यहि भदौं २६ गते  सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्न गइरहेको पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा गरेको छ ।
नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित पुरस्कारको रुपमा रहेको स्पोर्टस अवार्ड अन्तर्गत मञ्चले बर्ष २०७३ मा खेलक्षेत्र मार्फत नेपाललाई बिश्वमै चिनाउन सफल खेलाडी तथा यस क्षेत्रमा योगदान दिदै आइरहेका व्यक्तित्वहरुलाई सम्मान गर्न गइरहेको हो ।

आज एक समारोहकाबीच मञ्चले अवार्डको लागि आफ्नो सम्पूर्ण तयारी पुरा रहेको जानकारी दिएको थियो । समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, पुर्व अवार्ड बिजेताहरु पारस खड्का र दिपक बिष्ट तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले अवार्डको महत्वका बारेमा प्रकाश पार्दै मञ्चलाई शुभकामना दिएका थिए ।

स्पोर्टस अवार्ड अन्तर्गत मञ्चले बर्ष खेलाडी पुरुष, महिला तथा युवा, बर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट, पारा एथ्लिट र स्पेशल अवार्ड मार्फत सम्मान गर्नेछ । बर्ष खेलाडी युवा, बर्ष प्रशिक्षक तथा पिपुल्स च्वाइसका मनोनयनहरु यसअघिका कार्यक्रमहरु मार्फत सार्वजनिक भैसकेका छन् भने अन्य बिधाका बिजेताहरु समारोहको दौरान नै घोषणा गरिनेछ ।
पिपुल्स च्वाइस अवार्ड बाहेक अन्य सबै बिधाका बिजेताहरु मञ्चको खेलाडी छनोट समिति र कार्य समितिले गर्नेछ । पिपुल्स च्वाइस अवार्डको बिजेता एसएमएस भोटिङ्ग मार्फत गरिने जानकारी मञ्चले दिएको छ ।

यसअघि उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस अवार्डका बिजेतालाई बजाज पल्सर मोटरसाइकल दिइदै आइएको थियो भने यस बर्ष बर्ष प्रशिक्षकलाई पनि मोटरसाइकल प्रदान गरिनेछ । अन्य बिजेताहरुले नगद रु ५० हजार प्राप्त गर्नेछन् ।

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा। लि। को मुख्य प्रायोजन रहेको पल्सर स्पोर्टस अवार्डमा इन्टरनेशनल सोसाइटी फर मेडिकल एजुकेशन, सुर्य नेपाल प्रा। लि।, रुस्लान फुटबल, साहस स्पोर्टस, रोयल सिंगी होटल, डिस मिडिया नेटवर्क लिमिटेडको डिस होम एक्सन स्पोर्टस, टिएचटी लाइभ ३३१३१, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, एभरेष्ट बैंक र एभिन्युज टेलिभिजन साझेदारको रुपमा रहेका छन् ।