NTC Ad

नेपाल ३–० ले पराजित, एसिया कप खेल्ने सम्भावना थप कमजोर

Tuesday, October 10th, 2017

काठमाडौं, असोज २४ गते– ताजकिस्तानसँग ३–० ले पराजित भएपछि नेपालको एसिया कप खेल्ने सम्भावना थप कमजोर बन्दै गएको छ । नेपाल मंगलबार ताजकिस्तानसँग अवे खेलमा पनि पराजित भएको छ ।
मंगलबार नेपालले ताजकिस्तानको घरेलु मैदान हिजोर सेन्ट्रल रंगशालामा छनोट चरणको चौथो खेल खेलेको थियो । खेल अघि १ अंक बटुलेको नेपालले जित हासिल गर्दै छनोट हुने सम्भावनलाई बलियो बनाउने लक्ष्य लिएको थियो । तर नेपाल ताजकिस्तान विरुद्धको अवे खेलमा पनि जित हासिल गर्न असफल भयो ।

नेपालले घरेलु मैदानमा भएको खेलमा ताजकिस्तानलाई २–१ ले नतिजा सुम्पिएको थियो ।
२१औं मिनेटमा रक्षकको गल्तीमा नेपालले ताजकिस्तानलाई पेनाल्टी प्रहार गर्ने अवसर दियो । रक्षक अनन्त तामाङले डिबक्समा बल हातले छोएपछि रेफ्रीले पेनाल्टी दिए । त्यसलाई डाभरोनोभ निरुदिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

ताजकिस्तानले दोस्रो गोल ६०औ मिनेटमा गरेको थियो । पारभिज उमारबाएभले गोल गर्दै ताजकिस्तानको अग्रता दोब्बर बनाए । पारभिजले ८७औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेर ताजकिस्तानलाई ३–० को सफलता दिलाए ।
जितसँगै ताजकिस्तानले ४ खेलबाट ६ अंक जोडेर एसिया कप खेल्ने सम्भावनालाई बढाएको छ । नेपालले ४ खेलबाट १ अंकमात्र बटुलेको छ ।
नेपाल यसअघिको छनोट खेलमा फिलिपिन्ससँग ४–१ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यमनसँग हलचोकमा गोलरहित बराबरी खेलेको थियो । जारी प्रतियोगितामा नेपालले अब नोभेम्बर १४ मा फिलिपिन्ससँग हलचोक मैदानमा खेल्नेछ । यसैगरी छनोटको अन्तिम खेल नेपालले २७ मा यमनसँग दोहामा खेल्नेछ ।