Everest Bank Ad

नेपालगन्ज म्याराथनको तयारी पुरा

Sunday, November 19th, 2017

काठमाडौं, मंसिर ३ गते–
एघार बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै आयोजना हुदै आएको नेपालगन्ज म्याराथनको तेस्रो संस्करणको तयारी पुरा भएको छ ।
क्रियटिभ ह्याण्ड्स ग्रुपको आयोजनामा मंगलबार म्याराथनको तेस्रो संस्करण हुदैछ । नेपालगन्ज म्याराथनले प्राविधिक रुपमा मान्यताप्राप्त राष्ट्रिय प्रतियोगिताका रुपमा आफ्नो पहिचान बनाईसकेको छ ।
‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नारासहित आयोजना हुने नेपालगन्ज म्याराथनमा पुरुष खुल्लातर्फ विजेताले ५५ हजार नगद पुरस्कार पाउने छ । गत बर्ष नेपाली सेनाका कृष्ण बस्नेत विजेता बनेका थिए । गत बर्ष विजेतालाई ५० हजार नगद पुरस्कार थियो । त्यसैगरी, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार नगद प्राप्त गर्नेछन् भने खुल्ला म्याराथनतर्फ शीर्ष आठ जनालाई पुरस्कृत गरिने छ ।

चौथो स्थान हासिल गर्नेले १० हजार, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार नगद पुरस्कार पाउनेछन् । नेपालगन्ज रंगशालादेखि सुरु भइ कोहलपुर चौराहादेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः रंगशालामा पूरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन् ।
नेपालगन्जमा उपमहानगरपालिकाका मेयर उपमेयर र कोहलपुरमा कोहलपुर नगरपालिकाका मेयर उपमेयरले धावकहरुलाई स्वागत गर्नेछन् ।
यसैगरी महिला खुल्ला हाफ म्याराथनमा विजेतालाई ३० हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार पाउनेछ । हाफ म्याराथनमा शीर्ष छ जना नगदबाट पुरस्कृत हुनेछन् ।
त्यसमा चौथो स्थान हात पार्नेले ७ हजार, पाँचौंले ६ हजार र छैठौंले ५ हजार पाउनेछन् । चर्चित धाविका कान्छीमाया कोजुले आफ्नो व्यक्तिगत ततिजासमा सुधारसहित दोस्रो संस्करणकी विजेता भएकी थिईन् ।
विद्यालयस्तरीय पाँच किलोमिटर छात्र एवं छात्रा दौड पनि समावेश गरिएको छ । सुरुको बर्षदेखि निरन्तर यो प्रतियोगितामा यस बर्ष प्याब्सन बॉकेले साझेदारी गरेको छ । त्यस्तै, राष्ट्रिय अपाङ महासंघसंगको साझेदारीमा विकलांगहरुका लागि आयोजना हु‘दैआएको एक किलोमिटर ट्राइसाइकल दौडलाई पनि निरन्तरता दिईने छ । त्यस्तै म्याराथनलाई भब्य बनाउन गत बर्षदेखि सुरु गरिएको विद्यालयस्तरीय एकल नृत्य प्रतियोगितालाई पनि निरन्तरता दिइएको छ । यी सबै प्रतियोगिताका विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।
आउ‘दो बर्ष आयोजना हुने आठौ राष्ट्रिय खेलकुद् प्रतियोगिताको तयारीमा रहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले सम्पूर्ण प्राविधिक व्यवस्थापनको संयोजन गरेको छ । उसले नेपालगन्ज म्याराथन तथा हाफ म्याराथन २०१७ लाई पनि आठौ खेलकुद्को मिसनसंग जोडेको छ । त्यस्तै, एथलेटिक्स संघ बॉके सह आयोजकका रुपमा छ ।
नेपालगन्ज म्याराथन देशकै पुरानोमध्येको एक नेपालगन्ज उपमहानगरपालिका र उदाउदै गरेको कोहलपुर नगरलाई जोड्ने प्रतियोगिता भएकाले पनि यसको सफलता र निरन्तरताको खास महत्व रहेको क्रियटिभ ग्रुपका निर्देशक टिएस ठकुरीले बताए ।