NTC Ad

दोस्रो ललितपुर जिल्ला राष्ट्रिय लन टेनिस सुरु

Tuesday, October 10th, 2017

काठमाडौं, असोज २४ गते–
ललितपुर जिल्ला लन टेनिस संघको आयोजनामा मंगलबारदेखि दोस्रो ललितपुर जिल्ला राष्ट्रीय खुल्ला लन टेनिस प्रतियोगिता २०१७ सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन १८ खेल सम्पन्न भएका छन् । जसअन्तर्गत पहिलो चरण अन्तर्गत पुरुष सिंगल्सका १२ र महिला सिंगल्सका ६ खेल सम्पन्न भएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको पुरुष सिंगल्सतर्फको खेलमा जयजिभ हाडाले सक्षम बिक्रम शाहलाई ६–०. ६–३ को सोझो सेटमा पराजित गर्दा रोशन केसीले श्रीयोग अधिकारीलाई ६–०,६–० तथा महेश श्रेष्ठले जीवन घिमिरेलाई ६–०,६–२ ले पराजित गरे ।
यसैगरी सुब्रत बस्नेत र मुक्तिसेन गुरुंग, सिमान्त गुरुंग, अभिनव आचार्य, मानबहादुर कटुवाल वाकओभरको आधारमा विजयी हुँदा विजय श्रेष्ठले निसान श्रेष्ठलाई ६–१, ६–० ले तथा प्रणव खनालले गोपाल दास मानन्धरलाई ६–०, ६–१ ले हराए । यस्तै गौरव प्रताप शाहीले ईभ्यक जोशीलाई ६–०, ६–० को सोझो सेटमा हराउँदा श्रीराम मगरले पनि रोहित सुनुवारलाई ६–१, ६–२ ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।
प्रतियोगिताको महिला सिंगल्स अन्तर्गत मंगलबार भएको पहिलो चरणको खेलमा सुभाङ्गी लक्ष्मी शाहले आयशा डोल्कर गुरुंगलाई ६–२, ७–५ ले पराजित गर्दा गंगा शर्माले स्नेहा यादवलाई ६–०. ६–१ ले तथा भगवती बिकेले रायना शाहलाई ६–१, ६–४ ले पाखा लगाइन् । यस्तै सलोनी तमांगले ईशाश्री शाहलाई ७–६, ६–० ले हराउँदा बिजिशा श्रेष्ठले प्रकृति श्रेष्ठलाई ६–०, ६–२ ले तथा प्रेरणा कोइरालाले अभिलाषा विष्टलाई ७–५, ६–३ ले पराजित गरिन् ।
यसअघि अखिल नेपाल लन टेनिस संघका अध्यक्ष ज्योति राणा र ललितपुर जिल्ला लन टेनिस संघका अध्यक्ष दिपक कार्कीले प्रतियोगिताका संयोजक कृष्णराज घलेलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घघाटन गरेका थिए । प्रतियोगिता आगामी २८ गतेसम्म चल्नेछ ।