Everest Bank Ad

तुलसीपुर स्पोर्ट्स सिटी निर्माण गर्न अन्तरक्रिया

Tuesday, February 6th, 2018

काठमाडौं, माघ २२ गते
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दाङको तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माण गर्ने सम्बन्धमा सरोकारवाला र विभिन्न संस्थाका प्रतिनिधिसंग अन्तरक्रिया गरेको छ ।
तुलसीपुरमा सोमबार आयोजित अन्तरक्रियामा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले खेलकुद संरचना निर्माणमा गरिएको लगानीलाई खर्चका रुपमा हेर्न नहुने धारणा व्यक्त गर्दै स्वस्थ नागरिक र अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडी उत्पादनका लगानी हो भन्ने बुझ्नु पर्नेमा जोड दिए । उनले स्पोर्ट्स सिटी निर्माण गर्न परिषद् प्रतिबद्ध रहेको बताउदै यो कार्यमा सम्बन्धित सबैको साथ पनि उत्तिकै आवश्यक रहेको बताए ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले स्पोर्ट्स सिटी निर्माण गर्न राखेपसंग साझेदारी गर्न तयार रहेको बताउदै स्पोर्ट्स एकेडेमी बनाउन उपमहानगरपालिकाले बजेट समेत विनियोजन गरेको जानकारी गराए । उनले १ वडा १ खेल मैदान बनाउने उपमहानगरपालिकाको योजना रहेको बताए ।
तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माण गर्न राखेपले राखेपका सदस्य विनोद मैनालीको संयोजकत्वमा ५ सदस्यीय तुलसीपुर स्पोर्ट्स सिटी सम्भाब्यता अध्ययन कार्यदल निर्माण गरेको छ ।
कुन स्थानमा स्पोर्ट्स सिटी निर्माण गर्न उपयुक्त हुन्छ भनी तुलसीपुरका विभिन्न १९ वडामा जग्गाको अवलोकन समेत गरेको कार्यदलका सदस्य शिवराज भट्टले जानकारी दिए ।
अन्तरक्रियामा भट्टले स्पोर्ट्स सिटीको आवश्यकता, फाइदा, स्पोर्ट्स सिटीमा के के संरचना बन्नु पर्छलगायतका विषयमा प्रकाश पारेका थिए । स्पोर्ट्स सिटीको अवधारण अनुरुप राखेपले कार्यदल निर्माण गरी सुनसरीको इटहरी र कास्कीको पोखरामा काम सुरु गरिसकेको छ ।