Everest Bank Ad

ढुक्का हुदैनन बलिया टिम पनि प्रधानमन्त्री कपमा

Monday, February 12th, 2018

नेपालगन्ज, माघ २७ गते
नेपाली भलिबल महिला भलिबलमा एपिएफ र शिवम् न्यु डायमन्ड एकेडेमीले प्राय धेरै प्रतियोगिताको फाइनल खेल्ने गर्छन । एपिएफले डायमन्डको तुलनामा धेरै पटक उपाधि जित्ने गर्छ । डायमन्डले केहि स्थानमा च्याम्पियन बन्दै एपिएफलाई चुनौति दिन सक्ने टोलीको रुपमा छबि बनाएको छ ।
पोखरा लामाचौरमा न्यु डायमन्ड सर्वाधिक च्याम्पियन हुने टोली हो । तर डायमन्डले काठमाडौंमा आएर भने उपाधि जित्ने क्रमलाई निरन्तरता दिन सक्दैन । यसैगरी काठमाडौंको नयाँ बसपार्कमा हरेक वर्ष हुने ढोरपाटन महिला भलिबलमा एपिएफ सर्वाधिक पटक च्याम्पियन हुने टोली बनेको छ । तर लगत्तै न्यु डायमन्डले आयोजना गरेको प्रतियोगितामा एपिएफ डायमन्डसँग पराजित भयो ।
यसरी घरेलु महिला भलिबलमा एपिएफ र न्यु डायमन्ड हरेक फाइनलको सम्भावित टोलीका रुपमा परिचित छन । तर नेपालगन्जमा हुने प्रधानमन्त्री कप अन्तराष्ट्रिय प्रतियोगिता भने दुबै टोली फाइनल पुग्नेमा ढुक्क हुदैनन । फाइनलमा पुग्न पनि कठिन हुने गर्छ बलिया टिमका लागी प्रधानमन्त्री कप महिला भलिबलमा । यसलाई पुष्टि गर्छ डायमन्ड पछिल्लो पटकको सहभागितामा सेमिफाइनल भन्दा माथी उठन सकेन । त्यस्तै प्रधानमन्त्री कपका पछिल्ला दुइ संस्करणको फाइनलमा पुगेर पनि एपिएफले उपाधि जित्न सकेको छैन । pm cup LOGO
घरेलु भलिबलका शक्तिशाली टोली नेपालगन्जमा आएर कमजोर देखिन्छन । उनीहरुले आफनो वास्तविक स्तरको परिक्षण गर्ने अवसर पाइरहेको बताउँछन आयोजक बाँके जिल्ला भलिबल संघ अध्यक्ष टिएस ठकुरी । उनले भने, ‘हामीले भारतको स्तरीय टोलीलाई बोलाउने गरेको छौं । जुन टिमबाट भारतको राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले खेल्ने गर्छन । यसले नेपाली महिला भलिबलको स्तरलाई माथि उकास्न सहयोग गरिरहेको छ । नेपालमा प्राय धेरै खेलाडीले एक आपसमा खेलिरहेको हुन्छन । तर विदेशी खेलाडीसँग खेल्न पाउँदा केहि नयाँ र थप चुनौतिको सामना गर्नु पर्छ । यसले खेलाडीलाई मेहनत गर्ने बानीको विकास गर्छ ।’
नेपालगन्जमा पाँच वर्ष अघि देखी भैरहेको प्रधानमन्त्री कप महिला भलिबलमा भारतीय टिमले सहभागिता जनाउँदै आएका छन । भारतको रेल्वेए कोलकत्ता पछिल्लो दुइ संस्करणमा लगातार च्याम्पियन बनेको छ । च्याम्पियन बन्दा कोलकत्ताले फाइनलमा एपिएफलाई हराएको छ ।
एपिएफ नेपाली महिला राष्ट्रिय खेलाडी धेरै भएको टिम हो । जहाँबाट कप्तान बिनिता बुढा, स्पाइकर सरस्वती चौधरी, नेबिका चौधरी, रेश्मा भण्डारी, उषा विष्ट जस्ता खेलाडी खेल्छन ।
यसैगरी कोलकत्ताबाट पनि भारतीय टोलीबाट खेलिसकेको आधा दर्जन खेलाडी छन ।
हरेक वर्ष नेपाली खेलाडीले विदेशीसँग खेल्दा वास्तविक स्तरको परिक्षण हुने गरेको बताउँछन भलिबल कर्मी ऋषि पोखरेल । उनले भने, ‘महिला भलिबलमा एपिएफ र न्यु डायमन्ड बलियो टोली हुन भन्ने सबैलाई थाहा छ । उनीहरु मध्ये एकले उपाधि जित्ने पक्का हुन्छ । तर विदेशी टिम आउँदा नेपाली खेलाडीले मेहनत गर्छन । कसले जित्छ भन्ने थाहा हुदैन । यसले नेपाली खेलाडीको वास्तविक क्षमतालाई माथि उठाउन सहयोग गर्छ ।’
आगामी साता नेपालगन्जमा हुन लागेको प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलमा भारतसँगै बंगलादेश टिमको पनि सहभागिता रहने आयोजक बाँके जिल्ला भलिबल संघले बताएको छ । बंगलादेशको टोलीले प्रतियोगितामा पहिलो पटक भाग लिन लागेको हो । बंगलादेश टिमको सहभागीताले अब प्रधानमन्त्री कप महिला भलिबललाई दक्षिण एसियाली स्तरको प्रतियोगिताको रुपमा विकास गर्ने सोचको विकास भएको बताउनु हुन्छ नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्के । उहाँले भन्नु भो, ‘नेपालगन्जमा हुने प्रधानमन्त्री कपले विदेशी टिमको सहभागितालाई बढाइरहेको छ । यो महिला भलिबलको लागी सुखद कुरा हो । यसले हाम्रो टिमको स्तरलाई बढाउन र अन्तराष्ट्रिय पदक जित्न सहयोग गर्छ ।’
नेपालगन्ज कभर्ड हलमा फागुन ३ देखी ७ गते सम्म चल्ने प्रधानमन्त्री कप महिला भलिबलमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा, आयोजक टिम, विदेशी टिममा देहरादुन(भारत) र बंगलादेशी टिमले प्रतिस्पर्धा गर्नेछन । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख रुपैया, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैया पुरस्कार पाउनेछन । विभिन्न विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीले आर्कषक पुरस्कार पाउनेछन ।
प्रतियोगिता गर्न कठिन भए पनि आम दर्शक र नेपालगन्जमा खेल संस्कृतीको विकास गर्ने लक्ष्यले अन्तराष्ट्रि स्तरको प्रतियोगिता गर्ने कुरामा जोड दिएको बताउँछन नेपाल भलिबल संघका सचिव एवम क्षेत्रीय खेलकुद विकास समिती अध्यक्ष भीम ओली । उनले भने, ‘ प्रतियोगिता गर्न चुनौति छन । बाँके जिल्ला भलिबल संघले ति थुप्रै चुनौतिलाई पार गदै प्रतियोगिता गरेको छ । प्रतियोगिता गर्नमा बाँके बासी र भलिबल परिवारको सहयोगले थप सहज बनिरहेको छ ।’
उनले थपे, ‘हामी प्रधानमन्त्री कपलाई नेपालको स्तरीय प्रतियोगिताको रुपमा चिनाउन चाहन्छौं । र नेपालको स्तरीय प्रतियोगिता अहिले पनि हो । तर हामी अब यसलाई अगाडी बढाउन चाहन्छौं । दक्षिण एसियाली स्तरको प्रतियोगिताको रुपमा विकास गर्न चाहन्छौं ।’