NTC Ad

जुनियर भलिबल च्याम्पियनसिपलाई प्याब्सनको साथ

Saturday, September 23rd, 2017

काठमाडौं, असोज ७ गते
आगामी कात्तिक १२ गतेदेखि राजधानीमा आयोजना हुने यू–१८ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले मुख्य प्रायोजन गरेको छ ।

नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि प्याब्सनले ५ लाख रुपैयाँ प्रायोजन गरेको छ ।
शनिबार नक्सालस्थित होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसीले प्रायोजन सम्झौतामा हस्ताक्षर गरे ।
प्याब्सन अध्यक्ष सम्बाहाम्फेले राष्ट्रिय खेल भलिबलको विकास विद्यालय तहबाटै गर्न कमिसनले उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले भलिबलको  विकास र विस्तारका लागि आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए । नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसीले भलिबल खेलको विकासका लागि देशभरका विद्यालयसँग सहकार्य गरेर अगाडि बढ्न लागेको बताए ।
नयाँ बसपार्कमा आयोजना हुने प्रतियोगितामा १२ पुरुष र आठ महिला टोलीको सहभागिता रहने छ । प्रतियोगिताका विजेता टोलीले एक लाख, उपविजेताले ६० हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कमिसनका अध्यक्ष केसीले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टतर्फ बेस्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर र डिफेन्सले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि १३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान कमिसनको छ ।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, उपाध्यक्ष रञ्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्द, प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानालगायतको उपस्थिति रहेको थियो ।