Everest Bank Ad

करातेलाई मानव तस्करमा प्रयोग गरेको बारे खेलाडी संघको ध्यानाकर्षण

Sunday, November 26th, 2017

काठमाडौं, मंसिर १० गते–
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुद र कराते खेललाई मानव तस्करमा प्रयोग गरेको बारेमा आपत्ती जनाएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले करातेको नामलाई बदनाम हुने कार्यमा संलग्न ब्यक्तिलाई कारबाही गर्नको लागी सम्बन्धीत निकायलाई ध्यानाकर्षण गरेको छ ।
एक साता अघि सोकोकाई कराते संघको प्रमुखको रुपमा काम गरिरहेको कास्कीका फक्त बहादुर गुरुङले खेलाडी नाममा विभिन्न ब्यक्तिलाई बिदेश पठाउने गरेको खुलासा भएको थियो ।
सोकोकाई कराते संघ राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको संघ हो । गुरुङले विभिन्न कराते प्रतियोगितामा गैर खेलाडीलाई प्रथम भएको प्रमाणपत्र दिएर विदेश पठाउने गरेको सावर्जनिक भएको थियो ।

आइतबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले निकालेको विज्ञप्तीः

प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ नेपालका सम्पूर्ण खेलाडीहरुको छाता संगठन भएको यहाँहरुलाई जानकारी भएकै कुरा हो । नेपालका खेलाडीहरुको उत्थानमा दिनरात समर्पित भएर खेलकुद विकासमा योगदान गर्नु संघको मुख्य उदेश्य हो । खेलकुद र खेलाडीमाथि हुने हरेक खालका प्रहारलाई निश्तेज गर्दै खेल र खेलाडीको गौरव कायम राख्न संघ सधै समर्पित छ र रहिरहन्छ ।
खेलकुद अन्तर्राष्ट्रिय मञ्चमा देशको गौरव बढाउने एउटा मुख्य माध्यम हो र खेलाडी यसका सारथी हुन । खेल प्रशासकको भुमिका चाँही खेलाडीलाई आवस्यक सहयोग गर्दै समग्र देशको खेलकुदलाई माथि उचाल्न सहयोगि हुनुपर्छ । तर बेलावखत खेल प्रशासकहरुले आफ्नो जिम्मेवारी भुलेर समग्र खेलाडी, खेलकुद र देशकै बेइज्जत हुने गरी अत्यन्तै निच र तत्लो स्तरका काम गर्ने गरेको हामीसामु छर्लङग छ ।
हालै नेपाली खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदका एक जिम्मेवार सदस्यबाट गैह्र खेलाडीलाई नक्कली प्रमाणपत्रहरु बेच्ने काम गरेको सञ्चार माध्यमहरुबाट सार्वजनिक भएको छ ।
कहिल्यै पनि कुनै पनि खेलसँग कुनै साइनो नराखेका मानिसलाई १०औं लाख असुलेर ति सदस्यले परिषद तथा विभिन्न संघका प्रमाणपत्र बेचेको चर्चा भएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
खेलकुदसँग कुनै साइनो नभए पनि विदेश जाने लोभमा खेलाडीको प्रमाणपत्र किन्ने र बेच्ने दुवै खेलकुद र खेलाडीलाई बेइज्जत गर्न उत्तिकै जिम्मेवार छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले २४ घन्टाभित्र प्रमाणपत्र बेचेर मानव तश्करीमा संलग्न हुनेलाई कार्वाही गर्ने उदघोष गरे पनि धेरै दिन वितिसक्दा समेत कुनै प्रक्रिया सुरु भएको छैन ।
कहिल्यै कुनै खेल नखेलेको मानिसलाई प्रमाणपत्र किनबेचमार्फत देशकै ठूलो खेलाडीको रुपमा प्रस्तुत गरेर विदेश पठाउने गिरोहहरुका कारण नेपाली खेलकुद र खेलाडीमाथि कसैले विश्वास नगर्ने वातावरण सिर्जना भएको छ । त्यसैले यस्ता गिरोह चलाउने माफियाहरुलाई तत्काल कडा भन्दा कडा कार्वाहीका लागि संघ परिषद, युवा तथा खेलकुद मन्त्रालय र अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ । समयमै यस्ता गिरोहलाई प्रशासनले ठिक नलगाए संघ बाध्य भएर खेल प्रशासनविरुद्ध आन्दोलित हुन बाध्य हुने समेत विनम्रतापूर्वक जानकारी गराउँदछौं ।

…………..
दीपक श्रेष्ठ
अध्यक्ष
मिति ः २०७४ मंसिर १०