Everest Bank Ad

एल क्लासिकोमा बार्सिलोना विजयी

Monday, October 29th, 2018

barcelona-clasico-espanol-luis-suaresलन्डन, एजेन्सी)
स्पेनिस ला लिगाको सर्वाधिक चर्चित म्याच एल क्लासिकोमा बार्सिलोनाले सहज जित आत्मसात गरेको छ ।
आइतबार राति भएको सो म्याचमा बार्सिलोनाले आफ्नै घरेलु मैदान क्याम्प नोउमा अर्का फुटबल महारथी रियल मेड्रिडलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको हो ।
हात भाँचेका कारण दर्शक बनेका लियोनल मेसीको टोली बार्सिलोनाको शानदार जितमा लुइस स्वारेजले ह्याट्रिक गरेका थिए । यस्तै अन्य गोल फिलिप कौटिन्हो र अर्टुरो भिडालको नाममा रह्यो । कौटिन्होले खेलको ११ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
बार्सिलोनाले खेलको ३० औं मिनेटमा स्वारेजको पेनाल्टी गोलमार्फत् अग्रता दोब्बर पारेको थियो । सुरुमा राफेएल भरानेले स्वारेजमाथि फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिएनन् । तर भारको प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी प्राप्त गरेको थियो ।
पहिलो हाफसम्म २–० ले पछि परेको रियलले खेलको ५०औं मिनेटमा मार्सेलोको गोलमा पुनरागमन गर्ने सम्भावना देखाएका थिए । तर बार्सिलोनाले थप तीन गोल गरेपछि रियलको केहि लागेन । स्वारेजले खेलको ७५औं र ८३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै मैदानमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेको तीन मिनेट नबित्दै आर्टुरो भिडालले पनि हेडमार्फत् गोल गरेपछि बार्सिलोनाको गोलसंख्या पाँच पुग्यो ।
ला लिगा अन्तर्गत आइतबार राति नै भएको अन्य खेलमा सेभियाले हुएस्कालाई तथा अलाभेजले भिया रियललाई समान २–१ ले हराउँदा गेटाफेले रियल बेटिसमाथि २–० को जित हासिल ग¥यो । आइतबारको खेलपछि १० खेलबाट २१ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पिएसजीको कीर्तिमानी जित
लन्डन, (एजेन्सी)
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लगातार ११ खेल जितेर कीर्तिमान बनाएको छ ।
आइतबार राति भएको खेलमा मार्सेइलीलाई २–० ले हराउँदै लगातार ११ औं जित निकालेको पिएसजीले कीर्तिमान बनाएको हो । पिएसजीको जितमा क्लियन एम्बाप्पे र जुलियन ड्राक्सलरले एक–एक गोल गरेका थिए ।
पहिलो हाफ गोलबिहीन बनेको उक्त खेलको ६५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए । यस्तै इन्जुरी समयको पाँचौं मिनेटमा नेयमारको पासमा ड्राक्सलरले गोल गर्दै पिएसजीलाई २–० को जित दिलाए । यो खेलसँगै लगातार ११औं जित निकालेको पिएसजी ३३ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।
जितसँगै पिएसजीले पनि टोटनह्यामसंगै लिगमा सुरूका ११ खेलमा लगातार जित निकाल्दै बनाएको कीर्तिमानसँग बराबरी गरेको छ । यसअघि सन् १९६०–६१ को सिजनमा टोटनह्यामले लिगका सुरूवाती ११ खेलमा लगातार जित निकाल्दै कीर्तिमान बनाएको थियो । यो युरोपका शीर्ष पाँच लिगमा सुरुमा भएको लगातार सबैभन्दा लामो जित पनि हो ।