NTC Ad

एन्फा पदाधिकारी बन्न २ वर्ष सक्रिय भए पुग्ने, जिल्लाको ए डिभिजन क्लबले मोटिङ अधिकार नपाउने

Monday, October 9th, 2017

काठमाडौं असोज २३ गते – निर्वाचन प्रतिनिधीको संख्या, कार्यकारी समिती सदस्य, नैतिक समिती लगायतका विषयमा नयाँ निर्णय गर्दै अखिल नेपाल फुटबल संघ(एन्फा)को विशेष साधारण सभा सोमबार सकिएको छ ।
सभाले ४५ जिल्ला र १४ ए डिभिजन क्लबको निर्वाचन प्रनितिधीलाई निरन्तरता दिएपनि बी र सि डिभिज क्लबबाट आउने प्रनितिधी संख्या भने बढाएको छ । बि र सि डिभिजन क्लबको भोटिङ संख्या बढाएपनि जिल्लाबाट ए डिभिजन फुटबल खेलिरहेको चार क्लब झापा, मोरङ, रुपन्देही र कैलालीको क्लबले निर्वाचनमा मतदान गर्न नपाउने भएको छन । उक्त निर्णयले जिल्लाको क्लबलाई निरुत्साही गरेको एन्फा सदस्य पंकज नेम्वाङले बताएका छन । एन्फाले आगामी पुसमा निर्वाचन गर्ने तयारी गरिरहेको छ ।
निर्वाचनमा बी डिभिजन क्लबबाट ९ र सी डिभिजनबाट ५ जना प्रतिनिधीले सहभागिता जनाउने भएको छन । यसअघि बी डिभिजनबाट ५ र सी डिभिजनबाट तिन जनाले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था थियो ।
सधाले कार्य समिती गठनको बारेमा लचकता अपनाउँदै साधारण सभाले एन्फाको कार्यकारी समितीमा उमेदवारी दिने ब्यक्ति फुटबलको गतिविधीमा ५  वर्ष देखी आवद्ध भएर २ वर्षयता सक्रिय भएको हुनु पर्ने निर्णय गरेको छ । त्यसमा २५ वर्ष पुगेको ब्यक्तिले उमेदवारी दिन सक्नेछ ।
संसोधन गरिएको नयाँ विधानमा अध्यक्ष लगायतको पदमा चुनाव लड्न चुनावी साधारणसभा भन्दा अघिको पाँचबर्ष मध्ये दुई बर्ष कुनै न कुनै रुपमा फुटबलमा सक्रिय भएको हुनु पर्ने र निजको प्रस्तावक र सर्मथक भने साधारण सभाको प्रतिनिधि हुनुपर्ने प्रावधान राखिएको छ ।
एन्फा प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले फुटबलमा नयाँ अभ्यास गर्ने उद्देश्लय उमेदवारी दिने प्रक्रियालाई सहज बनाएको बताए । उनले भने,‘हामीले नयाँ अभ्यास गर्न खोजेको छौं । यसअघि साधरण सभाको सदस्यले मात्र कार्य समितीमा उमेदवारी दिन पाउने व्यवस्था थियो । तर अहिले त्यसमा लचकता अपनाउँदै फुटबलमा २ वर्ष सक्रिय भएको ब्यक्तिले उमेदवारी दिन सक्नेछ ।’
अहिलेको संरचनालाई पालना गर्दै भविष्यमा एन्फाको कार्यसमिती प्रादेशिक संरचनामा लैजाने प्रक्रिया सुरु गर्ने एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।
सभाले एन्फाले थ्रीस्टार क्लबलाई क्षतिपुर्ति स्वरुप १ करोड ५० लाख दिने निर्णयलाई साधारण सभाबाट अनुमोदन गरेको छ ।