NTC Ad

आज नेपाल र बंगलादेश भलिबल टोली भिड्दै

Tuesday, August 29th, 2017

काठमाडौं, भदौ १३ गते
गत वर्ष भागेको हारेको बदला लिने लक्ष्य सहित आज मंगलबार नेपालको पुरुष भलिबल टोलीले बंगलादेशसँग लगनखेलस्थित आर्मीको कभर्ड हलमा मैत्रीपुर्ण खेल खेल्दैछ ।
गत वर्ष भएको दोस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाललाई बंगलादेशले पराजित गरेको थियो । तर त्यसअघि भएका दुइ खेलमा नेपालले बंगलादेश विरुद्ध सफलता हासिल गरेको थियो ।

नेपालले बंगलादेशलाई पहिलो पटक सन् २०१०मा बंगलादेशमै भएको ११औ दक्षिण एसियाली खेलकुद (साग) मा हराउँदै विजयी यात्राको सुरुआत गरेको थियो । त्यसपछि बंगलादेशमै सन् २०१५ मा भएको पहिलो सेन्ट्रल जोन भलिबलमा पनि नेपालले बंगलादेशलाई हराएको थियो ।
दक्षिण एसियाली भलिबलमा नतिजालाई आधार मान्ने हो भने नेपाल र बंगलादेश भलिबल पुरुष भलिबल टोली समान स्तर भएका टोली हुन । तर नेपालले पछिल्लो समय भलिबलमा केहि महत्वपुर्ण उपलब्धी हासिल गर्दै अगाडी बढेको छ ।
राष्ट्रिय खेलको मान्यता पाएको नेपालले यसै वर्ष ४० वर्षे इतिहासमा पहिलो पटक आधिकारिक पदक जित्यो ।
नेपाल सरकारबाट राष्ट्रिय खेलको रुपमा मान्यता पाएपछि नेपाली खेलाडीले डच प्रशिक्षकबाट पनि तिन साता विशेष प्रशिक्षण लिने अवसर पाए । डच प्रशिक्षकको प्रशिक्षणबाट नेपाली खेलाडीले आफना केहि कमजोरलाई सुधार गर्ने अवसर पाएका छन ।
अहिले नेपाली टोलीले प्रशिक्षक जगदिश भंटको नेतृत्वमा खेल खेलिरहेको छ । प्रशिक्षक भंट नेपालले पछिल्लो समय मुख्य कमजोर पक्ष रिसिभमा मेहनत गरेकोले टोलीको खेल थप बलियो भएको बताए । उनले भने, हामी सुधार उन्मुख दिशामा अगाडी बढिरहेको छौं । बंगलादेशलाई हराएर थप सफलता हासिल गर्ने कोसिस गछौं ।

मैत्रीपुर्ण खेल अघि नेपाल र बंगलादेश टिमका प्रशिक्षक र कप्तान । तस्बिरः रंगशालाडटकम

मैत्रीपुर्ण खेल अघि नेपाल र बंगलादेश टिमका प्रशिक्षक र कप्तान । तस्बिरः रंगशालाडटकम

नेपाली टोलीमा भएका कप्तान इम राना अनुभव खेलाडी हुन । पछिल्लो ७ वर्षमा बंगलादेश विरुद्ध खेलेको सबै तिन खेल इमले खेलेको छन । कप्तान इम पनि मैत्रीपुर्ण खेल भएपनि यसलाई गत वर्ष भोगेको हारको बदला लिने अवसरको रुपमा लिन्छन । र भन्छन, मैत्रीपुर्ण खेल हो । तर हाम्रो स्तर कति माथी पुगेको छ भन्ने जाच्न पनि जित्नु पर्छ । हामी जित्ने लक्ष्य सहित खेल्छौं ।

नेपाल र बंगलादेशले बुधबार पनि आर्मीकै कभर्ड हलमा अर्को मैत्रीपुर्ण खेल खेल्नेछन । प्रशिक्षक भंटले दुबै खेलमा जित हासिल गर्ने कोसिस गर्ने बताए । उनले भने, हामीले पछिल्लो समय धेरै सकारात्मक सफलता हासिल गरेको छौं । नेदरल्यान्ड प्रशिक्षकको सहयोगले टिमको कमजोर सुधार गर्न सहयोग गरेको छ । तिन हप्ताको प्रशिक्षणले टिममा धेरै सुधार गर्न सकिन्न । तर हामीले यो अवधिमा टोलीको कमजोर पक्ष रिसिभ र ब्लक सुधार गर्न केन्द्रित भयौं ।

बंगलादेश विरुद्धको मैत्रीपुर्ण खेलको बारेमा बताउँदै नेपाली टोलीका प्रशिक्षक जगदिश भंट (बाया) र कप्तान इम राना । तस्बिरः रंगशालाडटकम

बंगलादेश विरुद्धको मैत्रीपुर्ण खेलको बारेमा बताउँदै नेपाली टोलीका प्रशिक्षक जगदिश भंट (बाया) र कप्तान इम राना । तस्बिरः रंगशालाडटकम

कप्तान इमको कप्तानीमा नेपालले आइतबार डेनमार्कको ए डिभिजन क्लब भिलवोभालाई हराएको थियो । डेनिस क्लब विरुद्धको सफलताले पनि जित हासिल गर्न सहयोग गर्ने रानाले बताए ।
बंगलादेशले पछिल्लो समय इरानी प्रशिक्षक अली पोअर एरोजीले नेपालसँग खेल्न खेल्न पाउनुलाई सुखद अनुभवको रुपमा लिएको बताए । अलीले भने, नेपाललाई हामीले यसअघिको खेलमा हराएको थियौ । तर अहिले अवस्था फरक छ । नेपालले पछिल्लो समय राम्रो गरिरहेको छ । दुबै टिमको स्तर समान छ । जित हासिल गर्ने हामी कोसिस गछौं ।

बंगलादेशका कप्तान मोहमद इमरान हैदरले मैत्रीपुर्ण खेलको लागी प्रर्याप्त तयारी गर्न नपाएपनि जित्नको लागी खेल्ने बताए । उनले भने, केहि प्राविधिक कारणले खेलाडीको स्वास्थ्यमा केहि असर गरेको छ । हामी त्यसबाट अगाडी बढदै नेपालसँग खेल्न तयार भैसकेको छौं । नेपालसँग मैले खेलेको छ । नेपालको केही खेलाडी राम्रो छ । उनीहरुलाई हामी कमजोर रुपमा लिएको छैनौ ।